काठमाडौं, असार ९ :

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आगामी पाँच वर्षभित्र देशभर १२ हजार दक्ष स्वास्थ्य जनशक्ति थपिने घोषणा गरेका छन्। प्रतिनिधिसभा बैठकमा मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले हरेक वर्ष २५ सय जनशक्ति थपिने गरी प्रक्रिया सुरु भइसकेको जानकारी गराए ।

उनले दशकौँदेखि जनशक्ति अभाव झेल्दै आएको स्वास्थ्य क्षेत्रलाई बलियो बनाउने उद्देश्यसहित संगठन तथा व्यवस्थापन सर्भेक्षणको प्रक्रिया अन्तिम चरणमा पुगेको र मन्त्रिपरिषदमा पेस गर्न लागिएको बताए। यसका लागि आगामी आर्थिक वर्षमा ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

सातै प्रदेशमा क्यान्सर, मुटु, मृगौला उपचार सेवा

बजेटमार्फत प्रत्येक प्रदेशमा रहेको संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर, मुटु, मृगौला प्रत्यारोपण, जलन उपचारजस्ता विशिष्टिकृत सेवाको व्यवस्था गरिएको पनि उनले स्मरण गराए।

‘म स्वास्थ्य, मेरो समुदाय स्वस्थ’ कार्यक्रमअन्तर्गत ७३६ स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको व्यवस्था गरिने भएको छ। साथसाथै आयुर्वेद, योग, ध्यान तथा परम्परागत चिकित्सा विस्तार गर्दै सबै तहमा नागरिक आरोग्य कार्यक्रम लागु गरिने छ। मानसिक स्वास्थ्य प्रवर्द्धन, पाठेघरको मुख र स्तन क्यान्सर तथा प्रजनन रुग्णता सेवाहरू पनि सबै स्थानीय तहमा विस्तार गरिनेछ। १४ वर्षमुनिका बालबालिकालाई एचपीभी खोप लगाउने व्यवस्था गरिएको छ।

निर्माण सम्पन्न आधारभूत अस्पतालहरू श्रावण १ गतेदेखि चिकित्सक र उपकरणसहित सञ्चालनमा ल्याइनेछ। निर्माणाधीन तथा सुरु नभएका स्थानहरूमा म्यापिङ्ग गरी काम अघि बढाउने जानकारी पनि मन्त्री पौडेलले गराए।

स्वास्थ्य बीमा बोर्डको संगठन सुधार अन्तिम चरणमा पुगेको र आगामी दिनमा सबै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई बीमामार्फत एकीकृत ढंगमा सञ्चालन गरिने मन्त्री पौडेलले बताए। सेवा प्रदायक अस्पतालमा बक्यौता फर्स्यौट गर्न र बीमित सेवाग्राहीलाई सबै सुविधा सहज ढंगले उपलब्ध गराउने व्यवस्था गरिनेछ।

मधेसमा विशेष सुविधा सहितको मृगौला उपचार केन्द्र र काठमाडौंमा सुविधासम्पन्न न्यूरो उपचार केन्द्र स्थापना गर्न बजेट विनियोजन भएको छ। भक्तपुरको छाती रोग अस्पताल र बुढानिलकण्ठको आयुर्वेद योग केन्द्र सञ्चालनमा ल्याइने उनले बताए।

यस्तै कोसी, नारायणी, भेरी, राप्ती, पाटन, टेकु, बीपी कोईराला क्यान्सर अस्पताल लगायतका संघीय अस्पतालहरूमा पूर्वाधार निर्माण र अत्यावश्यक औजार उपकरणका लागि बजेट छुट्याइएको छ। बीपी कोईरालामा  स्क्यान सेवा सञ्चालन र साइक्लोट्रोन उत्पादनको व्यवस्था पनि बहुवर्षीय योजनामा समावेश गरिएको छ।

सिकलसेल एनिमियाजस्ता आठ कडा रोगका उपचारमा थप सुविधा उपलब्ध गराइनेछ। थारु समुदायमा देखा परेको सिकलसेल एनिमियाका लागि निःशुल्क औषधि र सहुलियत उपचारको व्यवस्था गरिएको छ।

वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न मन्त्री पौडेलले रोजगारदातालाई जिम्मेवार बनाउने पहल सुरु गरिएको मन्त्री पौडेलले जानकारी दिए। यसका लागि द्विपक्षीय श्रम सम्झौतामा समावेश गर्न र विश्व स्वास्थ्य संगठनमार्फत नयाँ सिद्धान्त निर्माण गर्न प्रस्ताव लैजाने तयारी भइरहेको मन्त्री पौडेलको भनाइ थियो।