काठमाडौं, असार १० :

इरानका विदेशमन्त्री सैयद अब्बास अराघ्चीले यदि इजरायलले आक्रमण रोक्यो भने इरानले आफ्नो जवाफ जारी राख्ने कुनै मनसाय नभएको बताएका छन्।

सामाजिक संजाल एक्समा पोष्ट गर्दै उनले भनेका छन् युद्ध इजरायलले सुरु गरेको हो इरानले होइन। उनले इजरायलले स्थानीय समयअनुसार बिहान ४ बजेभित्र आक्रमण रोक्नुपर्छ भनेका छन् । तर त्यो समय  बितिसकेको छ। हालसम्म कुनै औपचारिक युद्धविराम सम्झौता नभएको भए पनि इजरायलले आक्रमण अन्त्य गरेमा इरानले थप कारबाही नगर्ने इरानले बताएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच पूर्ण युद्धविराममा सहमति भएको बताएको केही समयपछि इरानको यो प्रतिक्रिया आएको हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि इरान र इजरायलबीच केही घण्टाभित्र पूर्ण  युद्धविराम लागू हुनेछ।

इरान र इजरायल दुबैले युद्धविराममा सहमति जनाएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले बताएका छन् ।  यद्यपि इजरायलले भने यसबारे औपचारिक रूपमा टिप्पणी गरेको छैन।