लेखनाथ, साउन १४ : पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा सोही स्कुलकी कर्मचारी ३३ वर्षीया आरती विक र आरतीका छोरा अन्दाजी पाँच वर्षीय प्रिन्सको मृत्यु भएको हो ।

आरतीको गण्डकी मेडिकल कलेज पुर्‍याउने बित्तिकै मृत्यु भएको हो भने प्रिन्सको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । बसमा ३० जना सवार रहेकोमा बाँकी २८ जनाको पोखराका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

पोखरा महानगरपालिका–२१ फुर्सेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो । बस सडकबाट झन्डै ५० मिटर तल खसेको छ । बसमा चालक, सहचालक, अभिभावक र विद्यार्थी गरी ३० जना सवार थिए ।

घाइतेहरुलाई उद्धार गरेर गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार जारी छ ।