काठमाडौं, असार १० :

राष्ट्रिय स्वतन्त्र पार्टीले  बहालवाला वा पूर्व न्यायाधीशको अध्यक्षतामा भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन हुनुपर्ने माग गरेको छ ।

रास्वपाले उच्चस्तरीय संसदीय छानबिन समिति एवम् जाँचबुझ छानबिन आयोग ऐन २०२६ अन्तर्गत आयोग गठन हुनुपर्ने माग गरिएको पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले जानकारी दिएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा सांसद डा  वाग्लेले दलको तर्फबाट सदनमा बोल्दै छानबिन आयोग गठन नभएसम्म सरकारले बनाएको समिति अस्वीकार गर्ने र  संसदको अवरोध जारी राख्ने घोषणा गरेका हुन् ।  

सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न  पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।