
प्रतिनिधिसभामा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति बनाएको जानकारी गराएको छ ।
गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको प्रस्तावमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समिति बनाएको सदनमा जानकारी गराएका हुन् ।
यो समिति सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसँग जेठ ३० गते भएको दुईबुँदे सहमतिअनुरूप समिति बनाइएको गृहमन्त्री लेखको भनाइ छ ।
उनका अनुसार यस समितिको गठन हिजोको दिन स्वयं उनले प्रस्ताव गरेर मन्त्रिपरिषद्ले निर्णय गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हाल भइरहेको अनुसन्धानलाई असर नपर्ने गरी समिति गठन गरिएको स्पष्ट पार्दै उनले भने, ‘सम्मानित सदनमा भएको सहमतिअनुसार समिति बनाइएको हो ।’
गृहमन्त्री लेखकले उक्त समितिलाई स्पष्ट कार्यादेश दिइएको उल्लेख गरे । ‘सदनमा उठेका सबै माननीय सदस्यहरुको चिन्ता समेटेर समस्या दीर्घकालीनरूपमा समाधान गर्ने उद्देश्य राखिएको छ,’ उनले भने ।
सरकारले हिजो (सोमबार) पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।
समितिलाई १३ कार्यादेश दिइएको छ । तीन महिनाभित्र समितिले प्रतिवेदन तयार गर्नेछ । पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा ६ सदस्यीय समिति बनाइएको हो ।
गृहमन्त्रीले विशेष समय लिएर बोल्दा राप्रपा र रास्वपा शान्त रहे । उनीहरुले गत जेठ १३ गतेदेखि निरन्तर विरोध गर्दै आएका थिए ।