
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले भिजिट भिसासम्वन्धमा सरकारले सोमवार गठन गरेको उच्चस्तरीय छानविन समितिको स्वागत गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो मागअनुसार सरकारले सो समिति गठन गरेको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।
लोकतन्त्रलाई थप सुदृढ बनाउन यसमा देखिएका समस्यालाई समयानुकुल सुधार गर्दै जानुपर्छ व्यवस्था वा प्रणालीमा देखिएका समस्या जनाभावना अनुसार सुधार गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।
उपमहासचिव पुनले सो समितिले भिजिट भिसा सम्बन्धमा देखिएका दिगो समाधानका लागि गहिरो र निश्पक्ष छानविन गरोस भनि शुभकामना व्यक्त गरे । उनले भिजिट भिसा प्रकरण सम्वन्धमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले समेत काम गरिरहेको र राम्रो गर्नेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको आजको बैठकमा पूर्वमुख्य सिचव शङ्करदास वैरागिको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको जानकारी दिए । गृहमन्त्री लेखकले समितिका सदस्यहरुमा ६ मन्त्रालयका सहसचिव रहनुभएको जानकारी दिए ।
समितिको सदस्यमा सहसचिव तीर्थराज चिलवाल (अर्थ), अरुणा जोशी (कानुन, न्याय तथा संसदीय मामिला), रामकृष्ण लामिछाने (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), मणिरत्न कोइराला (परराष्ट्र), प्रदीप कोइराला (श्रम, रोजागार तथा सामाजिक सुरक्षा) र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहेको छ ।