
राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न कृषि क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका छन् ।
राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहमा उनले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहान गर्नुपर्ने उल्लेख गरे । उनले विदेशबाट फर्केका युवालाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरण बनाउन नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै बिउबिजन र मलको आपूर्ति, नवीनतम औजार/उपकरण/यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बिमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने विषयहरू हुन् । यसतर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको भन्दै कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाटै हामीले औद्योगिकीकरणको मार्ग प्रशस्त गरी आर्थिक रुपमा समृद्ध नेपालको निर्माण गरी संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पूरा गर्न सकिने बताए ।
पौडेलले नेपालको कृषि क्षेत्रले उपभोगमुखी उत्पादन र न्यून निर्यात क्षमता र उच्च व्यापार घाटाको प्रतिबिम्ब गर्ने गरेको उल्लेख गर्दै अशिक्षित, गरिबी र न्यून आय हुने परिवारको पेसाका रुपमा रहेको कृषि व्यवसायले अहिले परिचय फेरेको बताए । ‘शिक्षित युवावर्ग तथा उच्च आय हुने परिवारले पनि अहिले कृषिलाई मुख्य पेसा बनाई यसैबाट लाखौं आम्दानी गरिरहेका उदाहरणहरू छन् र कृषिमा नविनतम प्रविधि भित्रिएको छ,’ उनले भने, ‘कृषि क्षेत्रमा प्रशस्त सम्भावना देखिएका छन् । अहिले नेपालले कतिपय कृषिजन्य उत्पादनरू निर्यात गरी आम्दानी गरिरहेको छ भने दूग्ध उत्पादन, माछा मासु र अन्डामा आत्मनिर्भर भएको छ । यसरी कृषिले गति लिनुमा तपाईंहरूजस्तै पौरखी कृषकहरूको मिहिनेत र लगनको कारण हो ।’
उनले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति भएको भन्दै मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउन अति जरुरी रहेको बताए । ‘केही समय पहिले प्रकाशित भएको चौथो जीवनस्तर सर्वेक्षणमा ५९ लाख जनसंख्या गरिबीको रेखामा परेका छन् । यी गरिबीको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता पनि कृषि क्षेत्रमा भएको हुँदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु,’ उनले भने ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले कोसी प्रदेशबाट आर्य कृषि फर्मका सुरेशकुमार मेहता, कोसीकै रमेश कृषि फर्मका रमेश साह, मधेस प्रदेशबाट शम्भुनाथ माछा फार्मका भरतकुमार यादव, मधेसकै निजगढ केरा एग्रिकल्चर फार्मका हीराबहादुर थापा मगर, बागमतीबाट श्री कालिका पशु विकास केन्द्रका चेतप्रसाद ढकाल, बागमतीबाटै श्री ग्रिनलाइन एग्रो प्रालिका दयाराम मचामसी, गण्डकीबाट श्री ङवाङहिसी कृषि तथा पशुपन्छी अर्ग्यानिक फर्मका छिरिङ गुरुङ, गण्डकीबाटै श्री मित्र वाटिका कृषि फर्मका बाटुली तिवारी, लुम्बीनीबाट जयपाल मौर्य, लुम्बिनीबाटै शान्ति उन्नत पशुपालन तथा माछा फर्म प्रालिका सुवास कुर्मी, कर्णालीबाट गोविन्द ओली र भरतनाथ योगी, सुदूरपश्चिमबाट खप्तड पशुपन्छी तथा कृषि फर्मका प्रेमप्रसाद जोशी र कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्रालिका लोकबहादुर थापालाई सम्मान गरेका थिए ।