काठमाडौं, असार ११ :

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पदधारण गरेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुरूप उनले आफ्नो नाममा रहेको सम्पत्ति सार्वजनिक गरेका हुन् ।

उनीसँग पछिल्लो समय साढे १६ करोड रुपैयाँ बराबरको सम्पत्ति छ । गर्भनरको यो सम्पत्ति सुन र गाडीबाहेक हो ।

गभर्नर नियुक्त भएसँगै पौडेलले आफ्नो सम्पत्ति विवरण बुझाएका हुन् । विवरणअनुसार उनीसँग घर-जग्गा, सेयरमा लगानी, सुन, हीरा, गाडी र नगद मौज्दात छ ।

उनले चलाएका ६ वटा बैंक खातामध्ये दुईवटा त डलर खाता छन् । उनीसँग डलर खातामा ४५ सय १६ डलर छ । बाँकी खातामा भने २६ लाख ८६ हजार रुपैयाँ मौज्दात देखिएको छ । उनले बैंक खातामा भएको नगदलाई स्वआर्जन गरेको विवरणमा उल्लेख छ ।

यस्तै उनकी पत्नी प्रतिभा शर्माको नाममा तीनवटा बैंक खाता, ललितपुरको सैंबु र नवलपरासीको गैंडाकोटमा घर-जग्गा छ । उनी विभिन्न ६ कम्पनीको संस्थापक लगानीकर्ता पनि हुन् ।

आफू संस्थापक रहेका कम्पनीमा सानिमा बैंक, सानिमा मिडल तमोर, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चितवन इनर्जीमा पौडेलको लगानी छ । ग्लोबेकोमा प्रतिभा शर्माका नाममा पनि लगानी छ । यी कम्पनीहरुमा उनको कुल १४ करोड ५ लाख ६७ हजार रुपैयाँको सेयर छ ।

गभर्नर पौडेलसँग १५ लाख रुपैयाँबराबरको हीरा छ । सुन ४५ तोला, सुजुकी कम्पनीको चारपांग्रे गाडी पनि उनीसँग छ । उनीसँग रहेको सुजुकी कम्पनीको गाडी पत्नी प्रतिभाको नाममा रहेको र त्यसको ४४ लाख रुपैयाँ उल्लेख छ ।