काठमाडौं, असार ११ :

गृहमन्त्री रमेश लेखकले कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारीसाधन बन्द गरिएको अवस्थामा चलाएको पाइए त्यो प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

गृह मन्त्रालयले बुधबार आयोजना गरेको सडक क्षेत्रमा हुने सक्ने विपद्को पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा उनले मनसुनका बेला हुन सक्ने सडक दुर्घटना न्यूनीकरणका लागि गरिएका निर्णय र बनाइएका आचारसंहिता कार्यान्वयनमा जोड दिए । उनले उक्त निर्णयबारे आमनागरिकसम्म पुर्‍याउन सूचना प्रवाहमा ध्यान दिन आग्रह पनि गरे ।

‘कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारीसाधन चल्नु हुन्न भनिसकेपछि कुनै जिल्लामा सवारीसाधन भेटियो भने त्यो जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक प्रहरीलाई कारबाही गरिनेछ,’ उनले भने, ‘कारण देखाउनुपर्ने छैन । बिरामी र एम्बुलेन्स छ भने त्यो एउटा विषय बन्ला होइन भने सामान्य गाडी कसैका भनसुनका आधारमा चलाइएको पाइए कारबाहीको विषय बन्छ ।’ उनले उक्त विषय गृहसचिव र प्रहरी प्रमुखहरुलाई तल्लो तहसम्म सर्कुलर गर्न निर्देशनसमेत दिए ।

पहिरोले सडक अवरुद्धका साथै सवारीसाधनसमेत बगाउने अवस्था आउने गरेको भन्दै गृहमन्त्री लेखकले सडक सञ्जाल अवरोध हुँदा धेरै समस्याहरु सिर्जना हुने गरेको बताए । ‘विपद्जन्य घटना हुँदा सर्वसाधारणले सबैभन्दा पहिले सम्झिने सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई हो,’ उनले भने, ‘सूचना प्रवाह धेरै महत्त्वपूर्ण छ । विपद्का बेला सडक दुर्घटनामा नागरिकको जिधउनको बचाउ गर्ने चालकलाई पुरस्कृत र अटेरी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’