काठमाडौं, असार १२ :

नेटोका ३२ सदस्य राष्ट्रका नेताहरूले सन् २०३५ सम्ममा आफ्नो देशको कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत रक्षा खर्चमा लगानी गर्ने निर्णय गरेका छन्।

यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महिनौँ लामो दबाबपछि लिइएको हो। जसमा उनले बारम्बार युरोपेली सहयोगी राष्ट्रहरूले पर्याप्त खर्च नगरेको भन्दै आलोचना गर्दै आएका थिए।

नेदरल्याण्डको हेग सहरमा भएको शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्पले यस निर्णयलाई युरोप र पश्चिमी सभ्यताका लागि ठूलो जित भन्दै स्वागत गरेका छन्।

हेगमा सम्पन्न नेटो शिखर सम्मेलनपछि नेताहरूले नेटोको संस्थापक सन्धिको अनुच्छेद ५ मा उल्लेख गरिए अनुसारको "सामूहिक सुरक्षा प्रति अटल प्रतिबद्धता" पनि पुनः दोहोर्याएका छन्।

संयुक्त वक्तव्यमा नेटो सदस्य राष्ट्रहरूले गम्भीर सुरक्षा चुनौतीहरू विरुद्ध एकजुट रहेको बताएका छन् जसमा रूसबाट उत्पन्न दीर्घकालीन खतरा र आतंकवादलाई विशेष रूपमा उल्लेख गरिएको छ।

नेताहरूले नेटोको मूल सिद्धान्त  एउटा सदस्यमाथि भएको आक्रमण सम्पूर्ण गठबन्धनमाथिको आक्रमण ठानिनेछ भन्ने विषयमा आफ्नो अडिग प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्।

यद्यपि गत वर्षको वक्तव्यमा जस्तै यस पटक भने रूसको युक्रेनमाथिको आक्रमणको प्रत्यक्ष निन्दा गरिएको छैन।

नेटोका महासचिव मार्क रुटेले भने "यदि हाम्रो सुरक्षामा चुनौती आइ परेमा हाम्रो क्षमता र संकल्पमा कसैले पनि शंका गर्नु हुँदैन। हामी अहिले एक मजबुत,निष्पक्ष र घातक गठबन्धन निर्माण गर्दैछौं।”

राष्ट्रपति ट्रम्पले सम्मेलन अघि आर्टिकल फाइभको बारेमा विभिन्न परिभाषाहरू भन्दै केही शंका व्यक्त गरे तापनि पछि उनले भने, “म आर्टिकल फाइभसँग अडिग छु, त्यसैले त म यहाँ आएको हुँ।”

यो शिखर सम्मेलन राष्ट्रपति ट्रम्प २०१९ पछि पहिलो पटक सहभागी भएको सम्मेलन हो र उनले यसलाई विशाल सफलता भनेर व्याख्या गरेका छन्।

रक्षा खर्च वृद्धिको यो प्रतिबद्धता अनुसार सन् २०३५ भित्र हरेक सदस्य राष्ट्रले कम्तीमा कुल गार्हस्थ्य उत्पादनको ३.५ प्रतिशत मुख्य रक्षा खर्चमा र थप १.५ प्रतिशत सुरक्षा संरचना सम्बन्धी अन्य लगानीहरूमा खर्च गर्नु पर्नेछ।

स्पेनले भने यो ५ प्रतिशत लक्ष्यप्रति आपत्ति जनाउँदै आएको थियो। स्पेनी अर्थमन्त्री कार्लोस कुर्पोले भने “हामी २.१ प्रतिशत लक्ष्यमा पुग्न ठूलो प्रयास गरिरहेका छौं, त्यसैले यो प्रतिशतको बहस गलत दिशामा गएको हो।”

शिखर सम्मेलनको परम्परागत परिवार फोटोका क्रममा स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेज समूहको एक छेउमा एक्लै देखिएका थिए। तर पछि सान्चेजले नेटोको वक्तव्यमा हस्ताक्षर गरे र यो पर्याप्त,यथार्थपरक र स्पेनको दायित्वअनुसार मिल्ने निर्णय भएको बताए।

बेल्जियमले पनि सुरुवातमा केही शङ्का व्यक्त गरेको थियो । तर पछि प्रधानमन्त्री बार्ट डे वेभरले  ३.५ प्रतिशतभित्र १० वर्षमा पुग्नु गाह्रो त होला तर सम्भव छ भने।

स्लोभाकियाले पनि खर्च वृद्धिको विषयमा चिन्ता व्यक्त गरे तापनि राष्ट्रपति पिटर पेल्लेग्रिनीले ब्रातिस्लाभाले यस निर्णयको विरोध नगर्ने संकेत दिएका छन्।

यसैबीच फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युरोपेली संघसँगको व्यापारिक शुल्क सम्बन्धी टकरावको आलोचना गर्दै सहमतिको आह्वान गरेका छन्।

उनी भन्छन्,"हामीले एकअर्कासँग भन्ने गर्छौं  कि हामी मित्र राष्ट्र हौं, हामीले रक्षा खर्च बढाउनुपर्छ  अनि फेरि एकअर्काविरुद्ध व्यापार युद्ध लड्छौं, यसले कुनै अर्थ राख्दैन।"

हेगमा आयोजित शिखर सम्मेलन मंगलबार राति डच राजा विलेम अलेक्ज्याण्डर र रानी म्याक्सिमाले आयोजना गरेको औपचारिक डिनरबाट सुरु भएको थियो।

बुधबारको प्रमुख बैठक करिब दुई घण्टा ३० मिनेट मात्र चल्ने गरी छोट्याइएको थियो।

नेटो नेताहरूलाई सम्बोधन गर्दै डच प्रधानमन्त्री मार्क रुटेले भने "हामी एक खतरनाक समयको सामना गरिरहेका छौं" र "नेटोको आपसी रक्षा ग्यारेन्टी  "एउटा माथिको आक्रमण सबै माथिको आक्रमण हो" भन्ने सन्देशले बलियो प्रभाव पार्ने बताए।

रुटेले इरान-इजरायल द्वन्द्वमा ट्रम्पको हस्तक्षेपको प्रशंसा गर्दै शिखर सम्मेलनको समयमा उनले युद्धविराम असफल हुने संकेत देखिएपछि प्रयोग गरेको अशिष्ट शब्दको पनि सन्दर्भ उल्लेख गरे।

शिखर सम्मेलनमा बोल्दै ट्रम्पले भने "यी दुई देश स्कुलको मैदानमा झगडा गर्ने दुई बालक जस्तै झगडिरहेका छन्।" त्यसपछि रुटेले हाँस्दै भने,"अनि कहिलेकाहीं बाबुले बलियो भाषा प्रयोग गर्नैपर्छ।"

अमेरिकी राष्ट्रपति ट्रम्पले शिखर सम्मेलनको क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि छलफल गरेका छन् ।

त्यसपछिको पत्रकार सम्मेलनमा ट्रम्पले युक्रेनमा युद्धविराम प्राप्त गर्नु “सोचेभन्दा धेरै कठिन” भइरहेको बताए । युक्रेनलाई थप हवाई सुरक्षा प्रणाली उपलब्ध गराउने सम्भावनाको संकेत समेत उनले दिए।

ट्रम्पले भने "जेलेन्स्कीको स्थिति अलिक गाह्रो छ, उनी एक असल मानिस हुन्। मैले पुटिनसँग धेरै पटक कुरा गरिसकेको छु । उनले इरानको विषयमा सहयोग गर्ने प्रस्ताव दिए। तर मैले भने मलाई एउटा सहयोग गर इरान होइन, रुसको विषयमा मद्दत गर।"

नेटो सदस्य राष्ट्रहरूको अन्तिम संयुक्त वक्तव्यमा युक्रेनलाई दिइने समर्थनप्रति दृढ प्रतिबद्धता दोहोर्याइएको छ र भनिएको छ "युक्रेनको सुरक्षा हाम्रो सुरक्षासँग जोडिएको छ।" कीभलाई दिइने प्रत्यक्ष रक्षा सहायता र यसको रक्षा उद्योगमा गरिएको लगानी नेटोको रक्षा खर्च मूल्यांकनमा समावेश गरिने उल्लेख छ।

बेलायतका प्रधानमन्त्री सर कियर स्टारमरले भने "आजको अस्थिर विश्वमा नेटोले आज एकता देखाउने दिन हो। हामी अघिल्लो अवस्थाभन्दा ठूलो भएका छौं र पनि बलियो भएका छौं।"