काठमाडौं, असार १२ :

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अहिलेको राजनीतिक नेतृत्वबाट धेरै आशा गर्नु बेकार भएको टिप्पणी गरेका छन्। 

 शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बिहीबार बसेको बैठकमा उनले वर्तमान नेतृत्वले भाषण गर्न मात्रै जानेको तर कर्तव्य निर्वाह गर्न चुकेको आरोप लगाए।

विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सांसद भण्डारीले आफू पनि त्यही नेतृत्वको हिस्सा भएको स्वीकार गर्दै सबैलाई व्यवहारिक बन्नुपर्ने आवश्यकता औंल्याए।

भण्डारीले अझै पनि सीमान्तकृत वर्गले निःशुल्क शिक्षा पाउन नसकेको गुनासो गर्दै उनीहरुको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

‘लेख्ने, बोल्ने, भाषण गर्ने तर कर्तव्य कोही पनि पुरा नगर्ने। यो अहिलेको नेतृत्व हो र त्यसमा म पनि पर्छु,’ उनले भने, ‘त्यसकारण हामी व्यवहारिक हुनुपर्‍यो।’