
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले गत हप्तामा इरानी आणविक स्थलहरूमा गरिएको अमेरिकी हवाई आक्रमणलाई ऐतिहासिक रूपमा सफल भनेका छन्।
पेण्टागनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हेगसेथले सीआईए र संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था लगायत विभिन्न निकायको मूल्यांकन उद्धृत गर्दै आक्रमणको प्रभावशाली सफलताको दाबी गरेका हुन् ।
तर उनले केही दिनअघि सार्वजनिक भएको एक गोप्य गुप्तचर प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै मिडियामाथि पनि आक्रोश व्यक्त गरे।
उक्त प्रतिवेदनमा ती हवाई आक्रमणको प्रभाव सीमित मात्र रहेको बताइएको छ।
यो सबै घटनाक्रम त्यतिबेला सार्वजनिक भएको हो जब इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले अमेरिकी आक्रमणबाट कुनै महत्वपूर्ण उपलब्धि हासिल गर्न नसकेको दाबी गरेका थिए।
खामेनेईले इजरायलमाथि विजयको पनि घोषणा गर्दै कतारस्थित अमेरिकी सैन्य बेसमा आक्रमण गरेर इरानले अमेरिकालाई गम्भीर झापड दिएको समेत बताएका छन्।
यहीबीचमा इरानको आणविक कार्यक्रम पूर्णरूपमा नष्ट गरिएको हो वा केही समयका लागि मात्र पछि धकेलिएको हो? अझै निश्चित हुन नसकेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।