दाङ, असार १३ :

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयअनुसार, जसपाले प्रदेश स्तरबाट पनि समर्थन फिर्ता लिन थालेको हो । सोही निर्णयअनुसार लुम्बिनी प्रदेशमा वर्तमान सरकारलाई दिएको समर्थन औपचारिक रूपमा शुक्रबार फिर्ता लिएको जसपाले जनाएको छ ।

जसपाको लुम्बिनी प्रदेशमा एकजना प्रदेशसभा सदस्य मात्र छन् । जसपा नेपालको संसदीय दल नेता अम्बिका काफ्लेले शुक्रबार प्रदेशसभामा संविधानको धारा १८८ को उपधारा २ अनुसार लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रमार्फत प्रदेशसभालाई जानकारी गराएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले बताए । समर्थन फिर्ताको पत्र प्रदेशसभामा दर्ता भएको छ ।

काफ्ले समानुपातिक सांसद हुन् । चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन नेकपा एमाले, नेपाली कांग्रेस, नागरिक उन्मुक्ति, जनमत, लोसपालगायतले समर्थन गरेका थिए । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि कुनै असर नपर्ने जनाइएको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, जसपाका २, लोसपाका ३, जनमतका ३ सदस्य सरकारको समर्थनमा छन् ।

विपक्षमा माओवादीका १०, राप्रपाका ३, नेकपा समाजवादी, जनमोर्चा र जसपाका १/१ सदस्य छन् । जनमत पार्टीकी सदस्य गीता गुरुङ भने पदमुक्त भएकी छन् ।