
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले भिजिट भिसाको नाममा नेपालीहरुलाई मानव तस्करी गरेर बेच्न पाइन्छ ? भनी गृहमन्त्रीलाई प्रश्न गरेकी छन् । प्रतिनिधिभाको शनिबारको बैठकमा उनले आक्रोशित हुँदै यस्तो प्रश्न गरेकी हुन्।
उनले दुधको साक्षी बिरालो भने झै आफूलाई उम्काउने गरी गृहमन्त्री छानबिन समिति बनाएको आरोप समेत लगाइन् । सांसद कार्कीले गृहमन्त्री धेरै दिनसम्म उम्केर बस्न नसक्ने भन्दै उनले एक दिन जनताको कठघरामा उभिनै पर्ने बताइन् ।
उनले भनिन्, ‘गृहमन्त्रीले यस्तो समिति बनाउनु भयो, जुन समितिबाट उम्किन र कमाइलाई बचाउन पनि धेरै सजिलो भएको छ । गृहमन्त्रीज्यू धेरै फुर्ती नदेखाउनुस् । किनभने एक दिन यस्तो दिन आउँछ । तपाईं पनि पल्लो छेउबाट ओल्लो छेउ आउनुहुन्छ ।’
उनले गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनलाई सघाउन पनि आग्रह गरिन् । साथै नेपाली जनतालाई भिजिट भिसा प्रकरणबाट मुक्त गर्नलाई सहयोग गर्न पनि गृहमन्त्रीलाई आग्रह गरिन् ।