
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बिचौलियाहरुको स्वार्थमा नीति ल्याएको बताएका छन् ।
पार्टी सम्बद्ध नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तर्क्रियात्मक प्रशिक्षण कार्यक्रमलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै उनले रड बनाउन प्रयोग हुने स्पन्ज आइरन र तार जाली उद्योगका लागि आर्थिक चलखेलका आधारमा कर नीति ल्याइएको बताए । सत्तानिकट अमूक स्वार्थ समूहको फाइदाका लागि ल्याइएको नीतिका कारण अर्बौं लगानी गरेका अरु व्यवसायीको व्यवसाय धरापमा पर्ने र हजारौंको रोजगारी गुम्ने अवस्था आएको उनको भनाइ थियो ।
‘स्पन्ज आइरनमा लगाइँदै आएको करलाई १ प्रतिशत झारिएको छ । अर्को थरिलाई ५ प्रतिशत कर लगाइएको छ । यसरी त उद्योग चल्दैन । भएको रोजगारी पनि गुम्छ,’ पुनले भने । उनले कानुन बनाउनेदेखि बजेट निर्माण र ठेक्कापट्टामा समेत बिचौलियाकरण भएकाले भन्दै यो स्थितिको अनत्य नगरी मुलुकमा राष्ट्रिय पुँजी निर्माण सम्भव नहुने उल्लेख गरे । ‘बिचौलियाको स्वार्थमा राज्यका निकायले कानुन बनाउने कुराले समाजवादको आधार निर्माण गर्दैन,’ उनले भने, ‘राष्ट्रिय पुँजी निर्माण गर्ने र प्रतिस्पर्धी वातावरण बनाएर मात्र समाजवादको अधार तयार पार्न सकिन्छ ।’ त्यसका लागि सरकार र पार्टीहरु ‘पार्टी रुल अफ ल’ को सीमामा बस्नुपर्ने उनको भनाइ थियो ।
पुनले राज्यलाई दलाल पुँजीपतिको घेराबाट बाहिर निकाल्ने प्रयास गर्दा आफ्ना अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालिएको प्रसंग दोहोर्यनउ । ‘दलाल पुँजीपतिको घेराबाट राज्यलाई बाहिर ल्याउनुपर्छ भन्दा स्वार्थ समूहले दुई ठुला पार्टी कांग्रेस र एमालेलाई मिलाइदियो,’ पुनले भने ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले कृषि, जलविद्युत्, सूचना प्रविधि र उत्पादनमूलक उद्योग आदिमा लगानी प्रवर्धन गर्न सके मुलुकमा राष्ट्रिय पुँजी निर्माण हुने औंल्याए ।
फरक प्रसंगमा उनले नेपालका दुई छिमेकीहरु चीन विश्वको दोस्रो र भारत तेस्रो ठुलो अर्थतन्त्र बन्दै गरेकाले त्यसको प्रत्यक्ष लाभ नेपालले लिन सक्नुपर्नेमा जोड दिए । त्यसका लागि एकतिर मात्र फर्कने परम्परागत नीतिबाट माथि उठेर उत्तर-दक्षिण समदूरीको सम्बन्ध विकासमा जोड दिनुपर्ने पुनले औंल्याए । ‘नेपालले उत्तर र दक्षिणको विकासको फाइदा लिनुपर्छ । त्यसैले हामीले हाम्रो सरका भएको बेलामा उत्तर-दक्षिण करिडोरको अवधारणा ल्याएर कार्यान्वयन गरेका हौं,’ उनले भने ।