
काठमाडौँ, साउन १४ : सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक सकिएको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठक आगामी बिहीबार बस्ने गरी सकिएको हो । एमालेका मुख्य सचेतक बर्तौलाले आगामी बिहीबार फेरि बैठक बस्ने गरी आजको बैठक सकिएको जानकारी दिनुभयो । मूल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने र त्यसलाई एकीकृत गरी उठेका प्रश्नलाई पनि एकीकृत गर्ने कुरा भएको उहाले बताउनुभयो । सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बसी अहिलेसम्म भएका छलफलको मस्यौदा तयार पारेर आगामी दिनमा त्यसमाथि छलफल केन्द्रित गर्ने उहाँको भनाइ छ । यसअघि गत शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल भएको थियो ।
आजको छलफलमा संयन्त्रका सदस्य नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसद्को कानुन, न्याय तथा मानव अधिकार समिति सभापति बिमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाल लगायतको उपस्थिति रहेको थियो ।