
२२औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कृषिकर्ममा समर्पित सम्पूर्ण नेपाली कर्मशील एवं श्रमशील कृषकको अतुलनीय योगदानप्रति उच्च सम्मानसहित शुभकामना दिएका छन् ।
उनले सम्पूर्ण किसानहरुमा सुख, शान्ति र समृद्धिको कामनासमेत गरेका छन् । ‘यो दिवस आत्मनिर्भर र समृद्ध नेपाल निर्माण गर्ने साझा लक्ष्यसहित उन्नत कृषि प्रणालीको विकास र आधुनिकीरणप्रतिको दृढ संकल्पको प्रतीक हो । कृषकका सीप, निरन्तर श्रम र धैर्यलाई सम्मान गर्दै कृषि क्षेत्रलाई समृद्ध, उत्पादनमुखी र जलवायु अनुकूल बनाउन यो दिवसले सबै नेपालीलाई अभिप्रेरित गर्दछ,’ धान दिवसका अवसरमा शुभकामना सन्देशमार्फत यादवले भनेका छन्, ‘धान, हाम्रो खाद्य सुरक्षाको मेरुदण्ड र कृषि अर्थतन्त्रको आधारस्तम्भ हो । धानबालीमा स्थानीय जातहरूको संरक्षण र उन्नत प्रविधिको प्रयोग गर्दै जलवायु अनुकूल, उत्पादनमुखी तथा समावेशी कृषि प्रणाली अंगिकार गर्न आवश्यक छ । विभिन्न भौगोलिक क्षेत्रका लागि उपयुक्त, उत्पादनशील र पोषणयुक्त जातको धान प्रवर्धनमा जोड दिनुपर्दछ ।’
उनले कृषकप्रतिको सहानुभूति र सम्मान अभिव्यक्त गर्न नेपाल सरकारले अवलम्बन गरेको कृषि नीतिहरू कृषिको आधुनिकीकरण, जलवायु अनुकूल प्रविधिको प्रवर्धन, व्यावसायीकरण र कृषकहरूको सामाजिक सुरक्षामा केन्द्रित कार्यक्रमहरू धान उत्पादनमा वृद्धि तथा कृषकको जीवनस्तर उकास्ने नीतिबाट अभिप्रेरित रहेको पनि उल्लेख गरेका छन् । ‘दिगो कृषि प्रणालीको स्थापना सुदृढ ढंगले गर्न सक्नु आजको महत्त्वपूर्ण आवश्यकता हो,’ उनले भनेका छन् ।
राष्ट्रिय धान दिवसले देशको समृद्धि सिँचाइ प्रणालीमा मात्र होइन, प्रत्येक कृषकका अनुहारमा मुस्कान पनि देखिनुपर्ने तथ्यलाई स्मरण गराउने उपराष्ट्रपति यादवको भनाइ छ । ‘सबै मिलेर दिगो कृषि प्रणाली स्थापनातर्फको यात्रामा दृढतापूर्वक अघि बढ्दै खाद्य सुरक्षाको मेरुदण्डलाई थप बलियो बनाउन सक्नुपर्दछ । धान खेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रुपान्तरण गर्दै सिँचाइ, बिउ, मल र यान्त्रिकीकरणमा लगानी बढाउन जरुरी छ,’ उनले भने ।
जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जलवायु अनुकूल बीउको प्रयोग, पानीको व्यवस्थापन र जैविक मलको प्रयोगलाई प्राथमिकता दिदै जलवायु-मैत्री कृषिकर्मलाई प्रवर्धन गर्न पनि उत्तिकै आवश्यक रहेको उपराष्ट्रपति यादवले सन्देशमा उल्लेख गरेका छन् । ‘धान आयात घटाउने रणनीतिका साथ अघि बढ्दै नेपालमा वार्षिक रुपमा अबौं रुपैयाँबराबरको चामल आयात रोक्न जरुरी छ । यसका लागि धान उत्पादन बढाउने, भण्डारणमा सुधार र बजारमा पहुँच विस्तार गर्ने नीतिको सशक्त कार्यान्वयनमा जोड दिन सक्नुपर्दछ । बीउमा अनुदान, सिंचाई सुविधामा वृद्धि, कृषक परिचयपत्र र बीमा जस्ता कार्यक्रमलाई थप प्राथमिकमा राख्न जरुरी छ,’ उपराष्ट्रपति यादवले भनेका छन् ।
उनले आजको दिवस केवल एक औपचारिक उत्सव मात्र नभई कृषि-आधारित राष्ट्रको आत्मनिर्भरतासँग गाँसिएको उज्यालो सम्भावनाको उत्सव रहेको पनि औंल्याएका छन् ।