काठमाण्डौँ , भदौ २५ :

वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिने भन्दै तीन लाख ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका- ३ मनकामना बस्ने ४४ वर्षीया कमला चुँडाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

पक्राउ परेकी चुडालले एक जनालाई पोल्याण्ड लैजाने भन्दै रकम लिई विदेश नपठाई सम्पर्क विहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौँ टोखा नगरपालिका- ३ मनकामनाबाट पक्राउ गरिएको हो ।

उनलाई अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।