
फाइल तस्बिर।
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेस भएको विद्यालय शिक्षा विधेयकबारे सहमति जुटाउन शिक्षा मन्त्रालयमा सरोकारवालाबीच छलफल भएको छ।
बिहान ८:३० बजे बस्ने भनिएको समितिको बैठक सांसदहरूबीच एकमत नहुँदा दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ। अस्थायी शिक्षकको समायोजनमा प्रतिस्पर्धा ६०/४० वा ७५/७५ को मोडेलमा कसरी अगाडि बढ्ने भन्नेमा सहमति जुट्न सकेको छैन।
बैठकअघि शिक्षक महासंघका प्रतिनिधि र शिक्षा मन्त्रालयका अधिकारीबीच छलफल भइरहेको छ। छलफलमा शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस शाही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी लगायतको सहभागिता छ।
त्यस्तै, विद्यालय शिक्षामा कार्यरत बालविकास (ईसीडी) शिक्षकको हैसियतसम्बन्धी विवाद पनि कायमै छ। ऐनमै बालविकास सहयोगीलाई शिक्षक लेख्ने कि नलेख्ने भन्ने विषयमा सांसदहरूबीच मतभेद देखिएको छ।
केही सांसदले ईसीडी शिक्षकहरूलाई राजनीतिक दलका कार्यकर्ता भएको भन्दै शिक्षक मान्न नसकिने तर्क गरेका छन्। उनीहरूले शिक्षक सेवा आयोग पास गरेर आउनेलाई मात्र शिक्षकको दर्जा दिनु पर्ने अडान लिएका छन्।
ईसीडी शिक्षकलाई योग्यताको आधारमा पारिश्रमिक दिनुपर्नेबारे पनि छलफल जारी छ। जारी आन्तरिक छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ, समितिका सभापति अम्मरबहादुर थापा, शिक्षामन्त्री रघुजी पन्त, छविलाल विश्वकर्मालगायतको सहभागिता रहेको छ।
शिक्षकसँगको छलफलपछि समितिको बैठक बसेर विधेयक पारित गर्ने तयारी गरिएको छ।