
उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरू उद्यमशीलता, रोजगारी र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपंक्तिमा उभिनुपर्ने बताएका छन् ।
उनले राष्ट्रिय युवा परिषद्को आयोजनामा सोमबार काठमाडौंमा सुरु भएको ‘युवा उद्यमशीलता प्रवर्धन सम्मेलन’ मा यस्तो बताएका हुन् । ‘युवाका लागि अबको निकास : उद्यमशीलता, रोजगारी र सीप विकास’ नारासहित आयोजित सम्मेलनमा उनले युवाहरूको साहस, सिर्जनशीलता र सम्भावनालाई नेपालको उज्ज्वल भविष्यको आधारका रूपमा उल्लेख गरे ।
‘नेपालको कुल जनसंख्याको ठुलो हिस्सा ओगट्ने युवाशक्ति आजको यथार्थ मात्र होइन, उज्यालो भविष्यको सुनिश्चितता पनि हो,’ उनले भने, ‘युवाहरू नवप्रवर्तनशील सोच र उद्यमशील दृष्टिकोणका साथ राष्ट्र निर्माणमा अग्रपंक्तिमा उभिनुपर्छ ।’
उपराष्ट्रपति यादवले राष्ट्रिय युवा परिषद्ले प्रदेशस्तरीय सम्मेलनहरूबाट केन्द्रीय तहसम्म आइपुग्दा उद्यमशीलता प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा प्रशंसा गरे । यस्ता सम्मेलनले सरकारका नीति र कार्यक्रमलाई युवासँग जोड्न, निजी क्षेत्रसँग सहकार्य सुदृढ गर्न र स्टार्टअप संस्कृति प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
सम्मेलनमा उपराष्ट्रपति यादवले जलविद्युत्, पर्यटन, कृषि, जडीबुटी, साना तथा घरेलु उद्योग र डिजिटल उद्यमजस्ता क्षेत्रमा युवालाई केन्द्रमा राखेर नीति निर्माण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो चाहना छ- नेपाली युवा समस्या मात्र नहोस्, स्वयं समाधान पनि बनोस्,’ उनले भने, ‘यसका लागि सशक्त वातावरण, अनुकूल नीति, वित्तीय पहुँच र युवाप्रतिको विश्वास अपरिहार्य छ।’
उनले युवाहरूलाई व्यवसाय सुरु गर्न आवश्यक पुँजी, सीप र मार्गदर्शन प्रदान गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्थान, वित्तीय निकाय र नागरिक समाजले साझा जिम्मेवारी लिनुपर्ने बताए । बेरोजगारी घटाउन र युवालाई स्वरोजगारका लागि प्रेरित गर्न यो सम्मेलन कोसेढुंगा बन्ने यादवले विश्वास व्यक्त गरे ।
उपराष्ट्रपति यादवले सम्मेलनको सफलताका लागि आयोजक राष्ट्रिय युवा परिषद्लाई बधाई दिँदै युवाहरूको सिर्जनशीलता र जोशलाई व्यवहारिक रूपान्तरण गरी समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउन शुभकामना दिए ।