नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ।
सोमबार साँझ विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको जनाएको छ। नयाँ मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ ५० पैसा तोकिएको छ। निगमका अनुसार एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् राखिएको छ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. ७.६४, डिजेलमा रु. ९.१३ र हवाई इन्धनमा रु. ६.८८ ले मूल्य बढेको हो। यद्यपि निगमले खुद्रा मूल्यमा त्यसअनुसार पूर्ण समायोजन नगरी सीमित वृद्धिमात्रै गरेको जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।