काठमाडौं, असार १७ :

देशभर मंगलबार दिउँसो साधारणत: बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । महाशाखाका अनुसार देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

मंगलबार राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा साधारणत: बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगयात देशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।

महाशाखाका अनुसार देशभर अहिले मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केहीनजिक रहेको छ ।