
तेलंगानाको सांगरेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा रहेको एक रासायनिक कारखानामा सोमबार भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ ।
जिल्ला प्रशासनले सिगाची रसायन कारखानामा भएको विस्फोटमा मृत्यु भएका चारजनाको मात्र परिचय खुलेको भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् । यो विस्फोटमा परि थप ३५ जना घाइते भएको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ । घाइते सबैको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।
जिल्ला प्रशासनले यो विस्फोटमा अझै २४ जना बेपत्ता रहेको र सबैको खोजी भइरहेको जनाएको छ । विस्फोट भए पनि यसबाट ५७ जना सुरक्षित रहेको समाचारमा उल्लेख छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘तेलंगानाको सांगरेड्डीमा रहेको एक कारखानामा भएको आगलागी घटनामा मानिसहरुको मृत्यु भएकोमा म दुःखी छु । हाम्रा समवेदना आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५०-५० हजार रुपैयाँ अनुदानमा दिइने घोषणा पनि गरेका छन् ।
यसका साथै बिहार सरकारले बिहारमा बस्ने मृतकका आश्रितलाई २ लाख रुपैयाँ र घाइतेलाई ५०-५० हजार रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेको छ ।
-विभिन्न भारतीय सञ्चारमाध्यमको सहयोगमा