
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता शेखर कोइराला र केन्द्रीय सदस्य विनोद चौधरीबीच तीव्र आरोप–प्रत्यारोप चलेको छ।
चौधरीले कोइरालामाथि पार्टीको आधिकारिक उम्मेदवारलाई हराउने काममा संलग्न भएको गम्भीर आरोप लगाए भने, कोइरालाले चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता नै नपुगेको भन्दै प्रश्न उठाएका थिए।
चौधरीले मंगलबारको बैठकमा कोइरालालाई गुटगत राजनीति सीमा नाघेको आरोप लगाउँदै कारबाहीको मागसमेत गरे। उनले प्रतिनिधिसभा निर्वाचनका बेला लुम्बिनीमा आफैंलाई हराउन कोइरालाले मान्छे खटाएको दाबी गरे।
लुम्बिनीका महामन्त्री विक्रम खनालमाथि पनि चौधरीविरुद्ध काम गरेको आरोप छ, जो कोइरालाका निकट मानिन्छन्।
सोमबार कोइरालाले चौधरीको १० वर्षे क्रियाशील सदस्यता नपुगेको भन्दै उनको नियुक्तिमा प्रश्न उठाएका थिए। चौधरीले भने आफु पार्टीको विधानअनुसार विधिपूर्वक नियुक्त भएको र अदालतको निर्णयबाट समेत वैधता प्रमाणित भएको बताएका छन्।
चौधरीले कोइरालालाई ‘पार्टीलाई कमजोर पार्ने गुटगत गतिविधिमा सक्रिय’ भन्दै अनुशासनको दायरामा ल्याउनुपर्ने बताएका छन्। कोइरालाले भने पार्टीभित्रको विधि र आन्तरिक लोकतन्त्रका सन्दर्भमा प्रश्न उठाएका थिए।
कांग्रेसको आन्तरिक राजनीतिमा फेरि विवाद उत्पन्न भएको छ । नेताहरुले सीमा नाघेर एकअर्कामाथि गम्भीर आरोप लगाएका छन्।