
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले पूर्वप्रधानमन्त्री तथा अपदस्थ अवामी लिग नेतृ शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ।
न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले बुधबार फैसला सुनाएको हो। हसिनाले सन् २०२४ को अगस्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेकी थिइन्। त्यसअघि जुलाई २०२४ मा देशभरि फैलिएको जनविद्रोहको क्रममा भएको हिंसात्मक दमन र सामूहिक हत्यामा उनको संलग्नता रहेको अभियोग लागेको थियो।
जुन २०२५ मा आईसीटीले उनलाई ‘मानवता विरुद्धका अपराध’मा औपचारिक आरोप लगाएको थियो। अभियोजन पक्षका अनुसार हसिना ती घटनाका प्रमुख योजनाकारमध्ये एक हुन्। त्यसै मुद्दामा गाइबान्धाको गोविन्दगञ्ज निवासी शाकिल आकन्द बुलबुललाई पनि २ महिनाको जेल सजाय सुनाइएको छ।
