काठमाडौं, असार १९ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पशुपति क्षेत्र विकास कोषद्वारा सञ्चालित नेपाल वेदविद्या आश्रम संस्कृति माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ऐतिहासिक सफलता हासिल गरेको छ । विद्यालयका १४ परीक्षार्थीमध्ये ११ जनाले ए प्लस र ३ जनाले ए ग्रेड हासिल गरेका छन् ।

संस्कृत भाषा र साहित्यमा आधारित शिक्षालय नेपाल वेदविद्या आश्रमले यसपटक ८५ प्रतिशतभन्दा बढी विद्यार्थीलाई ए प्लसमा पुर्‍याउनुका साथै सम्पूर्ण विद्यार्थीलाई उत्तीर्ण गराएर शिक्षा क्षेत्रमा अनुकरणीय उदाहरण प्रस्तुत गरेको हो ।

यो उपलब्धिप्रति खुसी जनाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विद्यालयलाई बधाई तथा शुभकामना दिए । मन्त्रालयमै आयोजित कार्यक्रममा मन्त्री पाण्डेले संस्कृत विषयको अध्ययन आफैंमा चुनौतीपूर्ण रहेको उल्लेख गरे । ‘संस्कृत व्याकरण र साहित्यजस्ता कठिन विषयमा समेत ३.९५ सम्मको जीपीए ल्याउनु गौरवको विषय हो,’ उनले भने, ‘नेपाल वेदविद्या आश्रमले यसपटक जुन प्रेरणादायी नतिजा देखायो, यो संस्कृत शिक्षाको उज्यालो सम्भावनाको संकेत हो । संस्कृत र अंग्रेजी दुवैमा दक्ष विद्यार्थी संसारको जुनसुकै कुनामा काम लाग्ने हुन्छन् ।’

त्यस अवसरमा मन्त्री पाण्डेले मन्त्रालयअन्तर्गतका अन्य निकायको प्रगतिको चर्चा गरे । उनले भने, ‘सांस्कृतिक संस्थानले मात्रै ७० प्रतिशत नाफा कमाउन सफल भएको छ भने वेदविद्या आश्रमले प्राप्त गरेको शैक्षिक सफलता संस्थागत प्रतिबद्धताको सशक्त उदाहरण हो ।’

विद्यालयका प्राचार्य केशवप्रसाद अधिकारीले विगत १० वर्षदेखि एसइईमा शत प्रतिशत उतीर्णको परम्परा कायम राख्दै आएको जानकारी गराउनुभयो। उहाँले सीमित स्रोतसाधनबीच पनि संस्कृत अध्ययनतर्फ विद्यार्थीको आकर्षण बढ्दो रहेको बताउनुभयो।

प्राचार्य अधिकारीका अनुसार विद्यालयमा हाल कक्षा ४ देखि १२ सम्म अध्यापन हुँदै आएको छ । विद्यालयमा १५ जना शिक्षकमध्ये सातजना आंशिक छन् ।

पशुपति क्षेत्र विकास कोषअन्तर्गत सञ्चालनमा रहेको विद्यालयमा हाल १०९ जना छात्र छात्रावासमा बसेर अध्ययनरत छन् भने २१५ छात्र छात्रावास बाहिरबाट अध्ययन गरिरहेका छन् ।

विद्यालयको निरन्तर शैक्षिक उन्नयन सुनिश्चित गर्न कोषबाट कुनै कसर बाँकी नराखिने कोषका निमित्त सचिव सुवास जोशीले जानकारी दिए । उनले संस्कृत शिक्षाको विस्तार र प्रवर्द्धनमा वेदविद्या आश्रमले खेलेको भूमिकालाई थप प्रभावकारी बनाउन मन्त्रालयको तर्फबाट निरन्तर सहयोग जारी रहने प्रतिबद्धता पनि जनाए ।