
पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका १०, राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको जनकपुर उपमहानगरपालिका ४ का ४५ वर्षीय दीपेन्द्रकुमार झा छन् । उनी मकवानपुरको राक्सिराङ ९, खैराङमा रहेको कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक पनि हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बिहीबार राति भएको दुर्घटनामा सख्त घाइते भएका झाको उपचारका क्रममा मृत्यु भएको हो ।
राक्सिराङमा शोक बिदा
यसैबीच मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको मृत्यु भएपछि राक्सिराङ गाउँपालिकाले शुक्रबार (आज) शोक बिदा दिएको छ ।
प्रधानाध्यापक झाप्रति श्रद्धासुमन प्रकट गर्दै आज एक दिन गाउँपालिकाभित्र रहेका सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतले जानकारी दिए ।