
इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले बालीनजिकै डुंगा डुब्दा ६ जनाको मृत्यु भएको जनाएको छ । डुंगामा यात्रारत धेरैजसो बेपत्ता भएको बताइएको छ ।
उद्धार एजेन्सीले डुंगामा ५३ यात्रु र १२ जना चालक दलका सदस्य रहेको बताएको छ । स्थानीय समयअनुसार बुधबार राति ११:२० बजे जाभा टापुको पूर्वी तटमा रहेको बान्युवांगीबाट बाली जाँदै गर्दा डुंगा डुबेको थियो ।
एजेन्सीले ३१ जनालाई उद्धार गरिएको जनाएको छ । यद्यपि धेरै रिपोर्टहरूले आधिकारिक सूचीभन्दा बढी यात्रु डुंगामा हुन सक्ने संकेत गर्दछ ।
अधिकारीहरूले डुंगा डुब्नुको कारणबारे अनुसन्धान गरिरहेका छन् ।
बीबीसीले भने पीडित परिवारसँग कुरा गरेको छ । जसले आधिकारिक यात्रु सूचीमा सूचीबद्ध ६५ जनामा आफ्ना आफन्तको नाम समावेश नभएको बताएका छन् ।
डुंगामा यात्रारत बान्युवांगीका बासिन्दा इम्रोनले भने कि- डुंगा तीनपटक तीव्र रूपमा झुकेपछि पल्टिएको थियो । ‘तेस्रो पटकसम्म, समुद्री पानी यात्रु क्याबिनमा प्रवेश गरिसकेको थियो,’ उनले भने ।
डुंगा पल्टिएपछि, एम्रोनले प्वालबाट समुद्रमा पौडी खेले र लाइफ ज्याकेट भेटाए । पछि एक माझीले उनलाई उद्धार गरे ।
