काठमाडौं, असार २० :

उद्धारकर्मीहरूले इजरायली गोलीबारीबाट बिहीबार गाजामा ६९ जनाको मृत्यु भएको जनाएका छन् । इजरायलले प्यालेस्टिनी क्षेत्रमा बमबारी तीव्र बनाएको छ ।

हमासको नागरिक रक्षा एजेन्सीका अनुसार गाजामा विस्थापित परिवारहरूका लागि बनाइएको आश्रयस्थलनजिकै भएको हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ । तीमध्ये धेरैजसो महिला र बालबालिका थिए ।

इजरायली सेनाले त्यहाँ रहेको ‘प्रमुख’ हमास कार्यकर्तालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।

नागरिक रक्षाले भने राहत लिनका लागि लाइनमा उभिएका  र राहत लिन जान लागेकाहरु ३८ जनाको मृत्यु भएको दाबी गरेको छ ।

इजरायली सेनाले यति ठुलो मात्रामा क्षति भएका सूचनाहरु झुटो भएको दाबी गरेको छ ।

इजरायल र हमास दुवैमाथि नयाँ युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत हुन दबाब बढिरहेको समयमा यस्तो घटना भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार घोषणा गरेका थिए कि- इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ । यद्यपि अझै पनि केही अवरोध छन् जसले यो सम्झौतालाई रोक्न सक्छ ।

हमासले प्रस्तावहरूको अध्ययन गरिरहेको जनाएको छ । यो अझै पनि युद्धको अन्त्य र गाजाबाट इजरायलको फिर्ता चाहना राख्छ ।

इजरायली सेना (आईडीएफ) ले बिहीबार भन्यो कि- यसको विमानले विगत चौबीस घण्टामा गाजामा लगभग १५० ‘आतंकवादी लक्ष्यहरू’ मा आक्रमण गरेको छ, जसमा लडाकु जेट, सुरुङ र हतियारहरू समावेश छन् । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोही अवधिमा ११८ जनाको मृत्यु भएको दाबी गरेको छ । -बीबीसी