
राप्रपाका सांसद रोशन कार्कीले संसदमा प्रस्तुत विधेयकमा संशोधन गर्नु अघि गहिरो अध्ययन र पार्टीभित्र छलफल आवश्यक रहेको बताएकी छन्।
शनिबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै सांसद कार्कीले विधेयकमा हतारमा संशोधन गर्दा नीति निर्माण कमजोर हुने बताइन्।
‘समय दिइए पनि संशोधनमा पर्याप्त अध्ययन नगर्दा समस्या आउँछ,’ कार्कीले भनिन्, ‘सबै सांसद कानुनका विज्ञ हुँदैनन्, त्यसैले पार्टीभित्र छलफल गरेर मात्रै संशोधन ल्याउनु उपयुक्त हुन्छ।’
उनले हालै राज्य व्यवस्था तथा सुशासन समितिमा उठेको कुलिङ पिरियडको हेरफेर विषयले सांसदहरू झस्किएको उल्लेख गर्दै त्यस्ता विषयमा दफा–दफाको अध्ययन जरुरी रहेको बताइन्।
‘हामीले त्यसबाट पाठ सिक्नुपर्छ,’ कार्कीले भनिन्, ‘हाम्रो भूमिका विधायिका निर्माण गर्ने हो, त्यसैले जिम्मेवार ढंगले अध्ययन गरेर अघि बढ्नुपर्छ।’
समितिको बैठकमा शनिबार ऐन कार्यान्वयन मापनसम्बन्धी विषयमा छलफल भएको थियो।