
हमासले गाजामा जारी द्वन्द्व अन्त्य गर्न युद्धविराम प्रस्तावमा तुरुन्तै वार्ता गर्न आफू तयार रहेको जनाएको छ। अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा तयार पारिएको युद्धविराम प्रस्तावलाई सकारात्मक रूपमा लिँदै हमास वार्तामा बस्न तयार रहेको जनाएको हो।
हमाससँग आबद्ध इस्लामिक जिहाद समूहले पनि प्रस्तावको समर्थन गर्दै वार्ताको सफलताका लागि इजरायलले बन्धक मुक्तिपछि पुनः आक्रमण नगर्ने सुनिश्चितता दिनुपर्ने बताएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको घोषणालाई सकारात्मक संकेतको रूपमा व्याख्या गर्दै गाजाको द्वन्द्व अब अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन्। साथै, उनले गाजाका सर्वसाधारणको सुरक्षाबारे आफू गम्भीर रहेको पनि बताएका छन्।
यो घोषणा हमासले अन्य प्यालेस्टिनी समूहहरूसँग परामर्शपछि सार्वजनिक गरेको हो। सो सन्दर्भ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको प्रस्तावित अमेरिकी भ्रमणसँग पनि जोडिएको छ।
गाजामा हिंसात्मक संघर्ष सन् २०२३ अक्टोबर ७ बाट सुरु भएको हो, जब हमासले इजरायली क्षेत्रमा हमला गरेको थियो। त्यसयता द्वन्द्व जारी छ। यसअघि दुईपटक अस्थायी युद्धविराम सहमति भएको थियो, जसअन्तर्गत इजरायली बन्धकहरू साटो प्यालेस्टिनी कैदीहरू रिहा गरिएको थियो।
प्रधानमन्त्री नेतान्याहूले गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई सुरक्षित रूपमा घर फर्काउने प्रतिबद्धता जनाएका छन्।