काभ्रे, भदौ २६ :

नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ ।

बिपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको काभ्रेको धुलिखेल नगरपालिका- ६ स्थित जरणडाँडामा नेता कोइरालाको सालिक निर्माण भएको हो । 

प्रतिमा निर्माण मूल समितिका संयोजक नेपाली काँग्रेसका जिल्ला सदस्य जितकृष्ण श्रेष्ठले १५ लाखको लागतमा ढलौटको सालिक बनेको बताउनुभयो। 

पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट चन्दा सङ्कलन गरी सालिक निर्माण भएको संयोजक श्रेष्ठले बताउनुभयो।  

आगामी असोज ५ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सालिक अनावरण गर्ने कार्यक्रम निर्धारण भएको नेपाली काँग्रेस काभ्रेपलाञ्चोक शाखाले जनाएको छ । 

बनेपा- सिन्धुली- बर्दिबास एक सय ६० किलोमिटर सडक पनि नेता कोइरालाका नाममा राखिएको छ । यो बाटोलाई बिपी राजमार्ग भनिन्छ । 

जापान सरकारको अनुदानमा बिपी राजमार्ग निर्माण भएको हो ।