काठमाडाैं, असार २१ :

नेकपा (माओवादी केन्द्र) को पहलमा पाँच कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीच पेरिसडाँडामा संयुक्त बैठक बस्यो। माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा शनिबार बसेको बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे गम्भीर छलफल भएको बताइएको छ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेल सहभागी थिए।

स्रोतका अनुसार मुलुकमा बढ्दो राजनीतिक अस्थिरता, आर्थिक संकट, संघीयता र समावेशी लोकतन्त्रको कार्यान्वयनलगायत विषयमा नेताहरूबीच कुराकानी भएको छ। बैठकमा वर्तमान सत्तासंरचना, सम्भावित गठबन्धन र आगामी राजनीतिक दिशा–निर्देशनबारे समेत प्रारम्भिक धारणा आदानप्रदान भएको जनाइएको छ।

पार्टीबीचको वैचारिक नजिकाइलाई व्यवहारिक एकतामा परिणत गर्ने विषय पनि छलफलको केन्द्रमा रहेको बैठकमा सहभागी नेताहरूले बताएका छन्। आगामी दिनमा वामपन्थी शक्तिहरूबीच साझा रणनीति तय गर्न यस्ता बैठकलाई निरन्तरता दिने सहमति समेत बनेको छ। बैठकपछि नेताहरूले देशको हितका लागि वाम एकताको आवश्यकता झनै बढेको बताएका छन्।