काठमाडौं, असार २२ :

नेपाली युवाहरुको उद्यमशील प्रयासले उत्पादित छुर्पीले अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ । काठमाडौं उपत्यकामा स्थापना गरिएको ‘याला हिमालयन’ ब्रान्डको छुर्पी ‘डग च्यू’ नामक नयाँ पहिचानसहित अमेरिकी बजारमा एक महिनामै लोकप्रिय बनेको हो ।

ललितपुरस्थित चापागाउँमा ३ वर्षअघि विकास तिम्सिना, विश्वबन्धु शर्मा र मनोज हुमागाईँको नेतृत्वमा स्थापना गरिएको याला हिमालयन कम्पनीले हालै मात्र अमेरिकामा निर्यात सुरु गरेको छुर्पीले उल्लेखनीय माग उत्पन्न गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज हुमागाईंका अनुसार अमेरिकामा एमेजनमार्फत ५,१०० प्याकेज छुर्पी पहिलो चरणमा बिक्री गरिएको हो । ग्राहकको सकारात्मक प्रतिक्रियासँगै माग एक महिनामै तीनगुना बढेको उनले जानकारी दिए ।

ब्रान्डिङ, प्याकेजिङ र रणनीतिले सफलता
‘याला हिमालयन’ ब्रान्डको सुरुवाती मोडललाई परिमार्जन गर्दै कम्पनीले नयाँ नाम ‘याला हिमालयन डग च्यू’ अन्तर्गत प्याकेजिङ र खुद्रा बिक्री सुरु गरेको हो । उपभोक्तालाई आकर्षित गर्न कम्पनीले एक किन्दा एक नि:शुल्क अफरसमेत ल्याएको छ । अमेरिकी बजारमा यो छुर्पी तीन फरक प्रकारमा क्रमशः ९, १२ र १३ अमेरिकी डलर मूल्यमा बिक्री भइरहेको छ ।

अमेरिकी बजारमा उत्साहजनक सुरुवातपछि कम्पनीले आगामी ६ महिनाभित्र क्यानाडा र जापानजस्ता विकसित मुलुकका बजारमा समेत आफ्नो उत्पादन पुर्‍याउने योजना बनाएको छ । कम्पनीका निर्देशक विश्वबन्धु शर्माले भने,‘यो केवल सुरुवात हो, हामी नेपालका मौलिक उत्पादनलाई विश्वस्तरमा स्थापित गर्ने उद्देश्यले अघि बढिरहेका छौं ।’

याला हिमालयन ग्रुप अन्तर्गतको प्रमुख ब्रान्ड ‘याला हिमालयन डग च्यू’ हाल अमेरिकी बजारमा खुद्रा बिक्रेताहरु र अनलाइन मार्केटप्लेसहरू- जस्तै अमेजनमा उपलब्ध भइसकेको छ ।

याला हिमालयन नेपालको पहिलो कम्पनी हौं जसले किसानहरूसँग सिधा सहकार्य गर्दै गाउँघरमा उत्पादन भएको दूध खरिद गर्छ, त्यसलाई यस याला हिमालयनको अत्याधुनिक उत्पादन केन्द्रमा प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा आफ्नै ब्रान्डअन्तर्गत निर्यात गर्छ ।