काठमाडौं, असार २२ :

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले आइतबार सभामुखलाई भेटेर विश्वासको मत फिर्ता लिएको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएकी छिन् ।

यसबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साँझ भेट्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिइन् । प्रधानमन्त्री ओली पुल उद्‍घाटनका लागि हुम्ला गएको हुँदा साँझलाई भेट्ने समय तय भएको बताइन्।

नाउपाबाट पर्यटन राज्‍यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन् । आज ५ बजे वालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाउने तयारी भएको अध्‍यक्ष श्रेष्ठले बताइन् । त्यस्तै सुदूरपश्चिम सरकारबाट पनि नागरिक उन्मुक्ति बाहिरिसकेको छ ।

संघमा एक राज्यमन्त्री लिएर सहभागी भएको उन्मुक्ति पार्टी सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश सरकार सामेल थियो ।

नागरिक उन्मुक्ति पार्टीको यो निर्णयसँग संघीय प्रदेशमा मात्रै नभएर संघीय सरकारले समेत विश्वासको मत लिनुपर्ने प्राव्धान गरेको छ । संविधानको धारा १०० उपदफा २ मा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासका मतको लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्ने उल्लेख छ ।