काठमाडौं, असार २२ :

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार जोगाउन गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन्। 

पार्टीको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकमा बोल्दै उनले ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्ग पार्टीबाट टाढिँदै गएकोप्रति गहिरो चिन्ता व्यक्त गरे।

उनले भने, ‘हाम्रो पार्टी पुरानो हो, तर पुराना पार्टीप्रति जनता निराश हुँदै छन्। नयाँ नाममा नयाँ पार्टीहरू बनिरहेका छन्। यस्तो अवस्थामा हाम्रो परम्परागत जनाधार खस्किँदै गएकोप्रति पार्टी गम्भीर हुन जरुरी छ।’

डा. महतले कांग्रेसले आफ्ना मूल मूल्य-मान्यता, विशेषगरी धार्मिक र सांस्कृतिक पहिचानलाई स्पष्ट र मजबुत रूपमा प्रस्तुत नगरे गम्भीर क्षति हुने चेतावनी दिए। उनले भने, ‘हामी हिन्दू, बौद्ध, किराँत, प्राकृतिक पुजक धर्म-संस्कृति मान्ने जनताको प्रतिनिधित्व गर्छौं। यही नै पार्टीको राइट टु द सेन्टर हो। कम्युनिस्टहरू धर्मलाई अस्वीकार गर्छन्, तर हामी आस्थावान् छौं।’

सरकारको सन्दर्भमा बोल्दै डा. महतले गठबन्धन सरकार भएकाले कांग्रेसले सरकारमा बसिरहनुको न्यूनतम आधार के हो भन्ने स्पष्ट गर्नुपर्ने बताए। ‘बस्दा पनि गाह्रो, नबस्दा पनि गाह्रो भएको अवस्था छ। यस्तोमा त्यहाँ बसिराख्ने न्यूनतम आधार के हो भन्ने कुरा तय गर्न जरुरी छ,’ उनले भने।

सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले अन्य दलका मन्त्रीहरूभन्दा उत्कृष्ट कार्य गर्नुपर्ने उनको भनाइ थियो। उनले जनतामा सकारात्मक सन्देश दिनका लागि कांग्रेस नेतृत्वको स्पष्ट प्रभाव देखिनुपर्ने आवश्यकता औंल्याए।

डा. महतले सक्रिय सदस्यता वितरण प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै सक्रिय सदस्यता परम्परागत नेतृत्व सुरक्षित गर्ने नाममा घर-परिवारका सदस्य मात्र थपिएको भन्दै यस प्रवृत्तिले साँचो कार्यकर्ता छुटेको बताए ।

प्रदेश सरकारको प्रभावकारिता र नेतृत्वको कमजोरीप्रति पनि डा. महतले प्रश्न उठाए। साथै, पार्टीको सांगठनिक संरचना, कार्यशैली र आर्थिक अनुशासनमा व्यापक सुधार आवश्यक रहेको धारणा राखे।

विदेशस्थित जनसम्पर्क समितिहरू कमजोर बनेको, अधिवेशन समयमा नहुने, नाउँमात्रको समितिहरू रहेकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे । ‘नयाँ पार्टीहरूले विदेशमा सक्रियता बढाएका छन् । हामीले त्यसलाई रोक्न सकेनौं भने प्रवासी नेपालीहरूको समर्थन गुम्नेछ,’ उनले भने ।

विदेशमा रहेका नेपालीहरुलाई पार्टीमा जोड्न र भएकाहरुलाई इन्ट्याक्ट राख्न विश्वव्यापीरुपमै सम्पर्क समिति बनाउन जोड दिदै उनले भने – ‘त्यसको लागि पार्टीले ग्लोबल र क्षेत्रिय संयन्त्र बनाउन जरुरी छ । ’

उनले पार्टीको सांगठनिक संरचना, कार्यशैली र आर्थिक अनुशासनमा व्यापक सुधार आवश्यक रहेको बताए । ‘सरकारको लगानी प्रभावकारी छैन, रोजगारी सिर्जना भइरहेको छैन । प्रदेश र केन्द्र दुवैतिर कुशासनको असर छ,’ डा. महतले जोड दिए ।

 उनले भने  ‘नेपाली कांग्रेसले नै हो मुलुकको आर्थिक रुपान्तरण गर्ने, युवाहरुलाई रोजगार बनाउने, यो कुरालाई ध्यानमा राखेर अघि बढ्न जरुरी छ ।’ उनले पार्टी नेतृत्वलाई जनमत जोगाउन, संरचना सुधार गर्न, संगठनात्मक एकता कायम गर्न र जनताको असन्तुष्टिलाई सम्बोधन गर्न आग्रह गरे ।