काठमाडौं, असार २२ :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणापछि आफ्नो राजनीतिक भेटवार्ता तीव्र पारेकी छिन्। यस्तै क्रममा भण्डारीले गत बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग भेट गरेकी छिन्।

मेयर बालेननिकट स्रोतका अनुसार बिहीबार साँझ बालेन स्वयं भण्डारीको निजी निवास, भंगाल पुगेका थिए। उनीहरूबीच करिब ३० मिनेट कुराकानी भएको थियो। भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको जनाइएको छ।

भेटमा पूर्वराष्ट्रपति भण्डारीले काठमाडौं महानगरपालिकामा देखिएको पछिल्लो विवादप्रति चासो व्यक्त गरेकी थिइन्। उनले विशेषगरी आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम ल्याउन नसकेको विषयमा जानकारी लिइन्।

हाल काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत तथा कार्यपालिका सदस्यहरूसँगको समन्वय अभावका कारण कार्यपालिका बैठक नै बस्न सकेको छैन। बैठक नबस्दा महानगरले आगामी वर्षको नीति तथा कार्यक्रमसहितको बजेट पनि ल्याउन सकेको छैन।

उक्त भेटघाट एमालेकै एक नेताको पहलमा भएको जनाइएको छ। मेयर बालेन र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच पछिल्लो समय सम्बन्धमा तिक्तता बढिरहेको अवस्थामा बालेनले एमाले राजनीतिमा सक्रिय भएकी पूर्वराष्ट्रपति भण्डारीसँग भेट गर्नु राजनीतिक रूपमा पनि अर्थपूर्ण ठानिएको छ।

यसरी स्थानीय सरकारको बजेट संकट र राजनीतिक समन्वय अभावबीच पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीचको भेटलाई नेपाली राजनीतिक वृत्तमा चासोपूर्वक हेरिएको छ।