
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली कोरिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ स्थित च्वाखोला नदीमा निर्माण गरिएको बेलिब्रिज उद्घाटन गरेका छन्।
प्रधानमन्त्रीले आइतबार पुलको उद्घाटन गरेसँगै अब हुम्ला सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
यसअघि हुम्ला देशको एकमात्र यस्तो जिल्ला थियो । जुन औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थिएन। करिब २६ वर्षदेखि कर्णाली कोरिडोरअन्तर्गत सडक विस्तारको काम हुँदै आएको भए पनि सिमकोटसम्म पहुँच नपुगेको अवस्थामा प्रधानमन्त्री ओलीको उपस्थितिमा पुल उद्घाटन भएपछि अब सिमकोट राष्ट्रिय सडक सञ्जालमा समावेश भएको छ।
पुल उद्घाटन समारोहमा प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि सहभागी थिए। सरकारको उच्च प्राथमिकताको सूचीमा रहेको कर्णाली कोरिडोरमार्फत अब हुम्लामा यातायात तथा पूर्वाधार विकासले गति लिने अपेक्षा गरिएको छ।