काठमाडौं, असार २३ :

प्रधानमन्त्री केपी ओलीसँग स्विट्जरल्यान्डका संघीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको भेटमा दुई देशबीचको मित्रवत् सम्बन्ध अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो ।

मन्त्री क्यासिसले नेपालको विकास, संघीयता सबलीकरण, संक्रमणकालीन न्याय, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा आफ्नो सहयोग निरन्तर रहने बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा लामो समय हिंसात्मक र अस्थिर राजनीति रहे पनि अहिले दुई ठुला दलको सहकार्यमा विकास, सुशासन र लोकतान्त्रिक प्रणालीको रक्षाको ध्येयसहित सरकार बनेकाले स्थितिमा क्रमिक सुधार आएको दाबी गरे ।

उनले नेपालको विकासमा स्विस सरकारको निरन्तर सहयोगका लागि धन्यवाद पनि दिए । भेटका अवसरमा नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. डानियल मेउल्ली, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।