काठमाडौं, असार २३ :

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु नै साझा दायित्व भएको बताएका छन् ।

मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ समपर्ण समारोहमा उनले सुशासनको प्रत्याभूतिसहित शान्ति, न्याय र स्वतन्त्रताको अनुभूति आमनागरिकमा गराउन जरुरी रहेको बताए ।

उनले हामीले रोजेको लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धतिका रुपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आजको आवश्यकता भएको बताए ।

उनले सामाजिक न्यायको लागि मानवअधिकार तथा शान्ति समाजको अभियान र योगदान महत्त्वपूर्ण रहेको भन्दै नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ र शान्तिप्रक्रियामा समाजले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रममा शान्ति समाजले प्रदान गर्ने कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ बाट सामाजिक न्यायका अभियन्ता एवं पूर्वराजदूत पदम सुन्दासलाई पुरस्कृत गरिएको थियो ।