
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकार निर्माणका लागि संविधानमै संशोधन आवश्यक रहेको भन्दै पाँच बुँदे प्रस्ताव पेस गरेका छन् । उनले प्रधानमन्त्रीको कार्यकाल दुईपटकमा सीमित गर्नुपर्ने र आम निर्वाचनपछि सबैभन्दा ठुलो दलले मात्रै सरकार बनाउन पाउने व्यवस्था गरिनुपर्ने बताएका छन्।
केन्द्रीय कार्यसमितिको सोमबार जारी बैठकमा धारणा राख्दै शर्माले भने, ‘७५ वर्षमा कसैले पनि प्रधानमन्त्रीको कार्यकाल पूरा गर्न सकेन, अब स्थायीताका लागि नवीन दृष्टिकोण आवश्यक छ ।’
यस प्रकार छ पाँच बुँदे प्रस्ताव:
१) प्रत्यक्षतर्फको सिट र लोकप्रिय मतको आधारमा पहिलो भएको दलले मात्रै सरकार गठन गर्ने, अन्य दल विपक्षमै बस्ने।
२) पहिलो दललाई सामान्य बहुमत नपुगेमा निर्वाचनअघि आयोगमा बुझाइएको विज्ञहरुको नामअनुसार अपुग सिट त्यसै दलले प्राप्त गर्ने।
३) संसदीय दलबाट चयन भएको नेता प्रधानमन्त्री बन्ने, र मन्त्रिपरिषद्मा सीमित विज्ञहरुलाई समावेश गर्न सक्ने।
४) प्रधानमन्त्रीले १० दिनभित्र विश्वासको मत लिनुपर्ने, दुई वर्षपछि पुन: मत लिनुपर्ने, जुन कामको आर्थिक–सामाजिक सूचकको आधारमा हुने।
५) एक व्यक्ति दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने।
शर्माले हालको सरकार अपेक्षित प्रभावकारिता नदेखाएको भन्दै गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखे। ‘हामी पहिलो दल भएर पनि सरकारलाई लोकप्रिय बनाउन सकेनौं,’ उनले भने। महामन्त्री शर्माले सरकारबाट केही राम्रा काम पनि भएको बताए।
उनले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्वबाट अवकाश लिनुपर्ने बताउँदा जवाफमा देउवाले आफू अरुको कुरा नमान्ने ‘अप्ठ्यारो मान्छे’ भएको प्रतिक्रिया दिए।