काठमाडौं, असार २४ :

छिमेकी चीनतर्फ अबिरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आउँदा आज बिहान अन्दाजी ३:१५ बजे रसुवा जिल्ला गोसाईकुण्ड गा.पा. रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

त्यसैगरी सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा बाढी पसी केही मालबाहक कन्टेनर बगाएको समेत जनाएको  छ । हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त नभएको प्रधिकरणले नाएको छ ।

नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई आग्रह गरिएको छ ।

यसैगरी नुवाकोट जिल्ला स्थित त्रिशुली नदी बेत्रावती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले त्रिशुली नदीको तल्लो तटीय आसपासका क्षेत्रमा रहनुहुनेहरूले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।