काठमाडौं, असार २४ :

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको एक्कासि ठुलो बाढी वर्षाका कारण नभई तिब्बती क्षेत्रमा रहेको हिमताल विस्फोटको सम्भावना रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ।

मंगलबार बिहान ३:१० बजे रसुवा टिमुरेस्थित जलमापन केन्द्रमा जलसतह अचानक करिब ३.५ मिटरले बढेको महाशाखाले जनाएको छ। त्यसको २० मिनेटपछि, स्याप्रुवेसी केन्द्रमा पनि जलसतह एक्कासि ३.६५ मिटरबाट ५.३७ मिटर पुगेपछि तथ्यांक सम्प्रेषण रोकिएको हो। बाढीले उक्त जलमापन केन्द्र बगाएको पुष्टि केन्द्रका गेजरिडरमार्फत भएको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाको विश्लेषणअनुसार, गत २४ घण्टामा भोटेकोशी जलाधार क्षेत्रमा उल्लेखनीय वर्षा नभएको देखिन्छ। रसुवास्थित क्यान्जिङ र धुन्चे मौसमी केन्द्रहरूमा फाटफुट वर्षा मात्र मापन गरिएको छ भने फ्ल्यास फ्लड गाइडेन्स सिस्टम र ग्लोबल हाइड्रोइस्टिमेटर स्याटेलाइट डेटाले पनि वर्षाको प्रमाण देखाएको छैन।

महाशाखाका हाइड्रोलोजिस्ट सौहार्द जोशीका अनुसार, ‘तिब्बती क्षेत्रमा समेत १०–१२ मिलिमिटरभन्दा बढी पानी परेको छैन, जसले बाढीको कारण वर्षा नभएको स्पष्ट देखाउँछ।’

बाढीको यकिन कारण पत्ता लगाउन ‘सेन्टिनेल एसिया प्लाटफर्म’ मार्फत भू-उपग्रह तस्बिरको आपतकालीन अनुरोध गरिएको महाशाखाले जनाएको छ।महाशाखाले थप सतर्कता अपनाउँदै त्रिशूली नदीको रसुवागढीदेखि धादिङको बेनिघाटसम्म नदीतटीय क्षेत्रका बासिन्दालाई अर्को सूचना जारी नहुँदासम्म सतर्क रहन आग्रह गरेको छ।