
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसँगै गएका केही नेपाली नागरिक नफर्किएको विषयमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद बहिष्कार जारी राख्ने घोषणा गरेको छ।
प्रतिनिधिसभामा मंगलबार बोल्दै रास्वपा सांसद सोबिता गौतमले भिजिट भिसाका नाममा नेपाली नागरिक बेचबिखन भइरहेको गम्भीर आरोप लगाउँदै प्रधानमन्त्रीको भ्रमणमा समेत संलग्न केही मानिस कार्यको बहानामा नफर्केको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताइन्।
उनले भनिन्, ‘यो व्यक्ति विशेषप्रति आरोप होइन, तर विषय अत्यन्त गम्भीर छ। त्रिभुवन विमानस्थलभित्र मात्र होइन, विभिन्न कार्यक्रमको बहानामा नेपालीहरूलाई विदेश पुर्याउने गिरोहसँग जोडिएको संकेत समेत देखिन्छ।’
गौतमले सरकारले हरेकपटक टालटुले समिति बनाएर पन्छिने प्रवृत्ति दोहोर्याएको भन्दै आपत्ति जनाइन्। ‘सरकारले स्वार्थ बाझिने व्यक्तिको नेतृत्वमा आफू मातहतका कनिष्ठ कर्मचारी सम्मिलित समिति बनाएको छ, जुन गम्भीर विषयप्रति बेइमानी हो,’ उनले भनिन्।
रास्वपाले लगातार संसदमा आवाज उठाउँदा पनि सरकारले प्रभावकारी कदम नचालेको भन्दै उनी उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद बहिष्कार जारी रहने स्पष्ट पारिन्।