
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा. जोहान डेबिड वेडफुलबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
जर्मनीको बर्लिनमा मंगलबार भएको वार्ताका क्रममा नेपाल जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो ।
त्यस अवसरमा राणाले जर्मनी नेपालको ठुलो र पुरानो विकास एवं व्यापार साझेदारहरूमध्ये एक रहेको तथा आर्थिक, सामाजिकलगायत क्षेत्रमा नेपालले जर्मनीको सहयोग प्राप्त गर्दै आएको स्मरण गर्दै जर्मनी सरकार एवं जर्मन नागरिकप्रति धन्यवाद दिइन् ।
राणाले नेपाल र जर्मनीबीचको द्विपक्षीय व्यापार थप प्रवर्धन गर्न सामूहिक प्रयास एवं दुवै देशका निजी क्षेत्रबीचको सञ्जाललाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै नेपालमा रासायनिक मल उत्पादन कारखानालगायत क्षेत्रमा जर्मनीको लगानीका लागि आग्रह गरेकी थिइन् ।
त्यस अवसरमा राणाले नेपालले २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि यसलाई सहज एवं दिगो बनाउन रणनीति बनाइरहेको जानकारी दिँदै त्यसपछि नेपालले जर्मनी, युरोपियन युनियन एवं अन्य साझेदारहरुबाट स्रोत, प्रविधि र आर्थिक सहयोगको अपेक्षा गरेको पनि बताइन् ।
त्यसैगरी राणाले नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्य तथा सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गर्दा विदेशमन्त्री डेबिडले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
जर्मनी नेपालका लागि युरोपको दोस्रो ठुलो पर्यटक स्रोत रहेको तथा दुई देशबीच पर्यटनको ठुलो सम्भावना रहे पनि प्रत्यक्ष हवाई सम्पर्कको अभावमा यसबाट पूर्ण मात्रामा लाभ लिन नसकिरहेकाले दुई देशबीच सिधा उडानका लागि पनि राणाले आग्रह गरेकी थिइन् ।
नेपाली एयरलाइन्सहरू युरोपियन युनियनको हवाई सुरक्षा सूचीमा सूचीबद्ध भएपछिको उडान प्रतिबन्धका कारण नेपाल र युरोपबीच सीधा उडानहरू हुन नसक्दा दुई देशबीचको पर्यटन प्रवर्धनमा गम्भीर असर गरिरहेको जानकारी पनि उनले गराएको राणाको सचिवालयले जनाएको छ ।
नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गर्न संसदमा दुई विधेयक पेस गरेको र प्रस्तावित कानुन विश्वकै उत्कृष्ट अभ्यास मात्र नभएर ईयू र आइकाओको सिफारिसबमोजिम समेत रहेकाले नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने भूमिकाका लागि ईयूको एक प्रभावशाली सदस्य राष्ट्रसमेत रहेको जर्मनीसँग उनले अनुरोध गरिन् । यस विषयमा आफूले सक्दो सहयोग गर्ने आश्वासन जर्मनीका विदेशमन्त्री डेबिडले दिए ।
भेटका क्रममा राणाले नेपालमा जलवायु परिवर्तनको अकल्पनीय असर परिरहेको र यसबाट देशले अनेक दुष्परिणाम बेहोरिरहेको प्रसंग उल्लेख गर्दै नेपाले अघि सारिरहेको जलवायु न्यायको अभियानमा जर्मनीसँग पनि सहयोगको अपेक्षा गरिन् ।