
नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाकी सांसद सोबिता गौतमको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।
रास्वपाकी सांसद गौतमले प्रधानमन्त्रीले स्पेन भ्रमणका क्रममा गएका केही व्यक्तिलाई उतै छाडेर आएको भन्ने अभिव्यक्तिप्रति बर्तौलाले आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु हुनेबित्तिकै रास्वपाको तर्फबाट गौतमले भिजिट भिसा प्रकरणको बारेमा आवाज उठाउँदै प्रधानमन्त्री स्पेन भ्रमणमा जाँदा केही मान्छेलाई उत्तै छाडेको आरोप लगाएकी थिए ।
बर्तौलाले अभिव्यक्ति दिने गौतमलाई भ्रमण टोलीमा रहेका को–को व्यक्ति नफर्किएका हुन् त्यसबारे पनि संसद्लाई जानकारी गराउन माग गरे।
उनले भने, ‘प्रधानमन्त्री स्पेनमा आयोजित राष्ट्रसंघका कार्यक्रमबाट फर्किनुभएको छ। केही मान्छे स्पेनमै बसेका छन्, फर्किएका छैनन् भनेर प्रधानमन्त्रीज्यूलाई मुछेर निराधार कपोकल्पित, भ्रामक कुरा जिम्मेवार सांसदले गरिमामय संसद्मा गर्ने कुरा बेठिक छ।’
प्रधानमन्त्री आफैले संसद्मा आएर भ्रमण र त्यसमा रहेका टोलीबारे जानकारी गराइसकेको अवस्थामा विवादित बनाउने कुरा आपत्तिजनक भएको बताए।