काठमाडौं, असार २५ :

‘भूमि व्यवस्थासम्बन्धी विधेयक’मा पर्याप्त छलफल नभएको भन्दै सत्ता साझेदार दल नेपाली कांग्रेसले आपत्ति जनाउँदै उक्त विधेयक पुनः समितिमा पठाउन माग गरेको छ।

प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकको कार्यसूचीमा समावेश गरिएको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक कांग्रेसको तीव्र असहमतिको कारण कार्यसूचीबाट हट्ने सम्भावना बढेको छ।

विधेयकलाई जबरजस्ती पारित गर्न खोजिए कांग्रेसले अस्वीकार गर्ने चेतावनीसमेत दिएको छ। महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार, दिलेन्द्रप्रसाद बडु, सञ्जय गौतम, राजन केसी लगायत १२ जना कांग्रेस सांसदहरूले विधेयकमा संशोधन प्रस्ताव दर्ता गराइसकेका छन्।कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले विधेयकमा थप छलफल आवश्यक रहेको जनाउँदै संसदको कार्यसूचीबाट हटाउन माग गरेका छन् ।  

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका कांग्रेस सांसद रामहरि खतिवडाले विधेयक समितिमा फर्काएर थप छलफल आवश्यक रहेको बताएका छन्।

संसद सचिवालयले आजको बैठकको कार्यसूचीमा विधेयकलाई दफावार छलफलका लागि प्रस्तुत गर्ने र अन्ततः पारित गर्ने प्रस्ताव राखेको छ। तर कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पूर्व सहमति विना विधेयक अघि बढाइनु आपत्तिजनक रहेको जनाउँदै कार्यसूचीबाट हटाउन सुझाव दिएका छन्।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक प्रस्तुत गर्ने तयारीमा छन्। तर कांग्रेसको दबाबका कारण विधेयकलाई आज पारित गर्ने प्रक्रिया रोकिन सक्ने संकेत देखिएको छ।