
प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे टिप्पणी गर्ने क्रममा सांसदहरूबीच संसद्मा तीव्र बहस भएको छ ।
सत्तारुढ नेकपा एमालेकी सांसद सुनीता बरालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमलाई भाषाको ज्ञान र परिभाषा सिकाउन आफूहरू तयार रहेको भन्दै चुनौती दिएकी छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा गौतमले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणसम्बन्धी आफ्नो अभिव्यक्तिको गलत व्याख्या गरिएको बताउँदै, ‘भाषा नबुझेकोले मेरो भनाइ अपव्याख्या गरिएको छ,’ भनेकी थिइन्।
सांसद बरालले गौतमप्रति तीव्र प्रतिक्रिया जनाउँदै भनिन्, ‘पटकपटक टिप्पणी गरिएका माननीयलाई म प्रश्न गर्न चाहन्छु, भाषाको ज्ञान तपाईंलाई सिकाउन हामी तयार छौं। तर, बोल्दा हेक्का राखेर बोल्न म चुनौती पनि दिन चाहन्छु।’
सांसद बरालले संसद् अफवाह फैलाउने र गलत प्रचार गर्ने ठाउँ नभएको स्पष्ट पारिन्। प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे प्रमाण मागिएको विषयमा उनले आवश्यक परे फेरि पनि भ्रमण टोलीको सूची पेस गर्न सकिने बताइन्।
उनले बैठक सुरु भए लगत्तै संसद्मा बोल्ने रास्वपाको शैलीप्रति व्यङ्ग्य गर्दै भनिन् , ‘गलत टिप्पणी गर्ने र अरुको कुरा पनि धैर्यतापूर्वक नसुनेर बाहिरिने ठाउँ संसद् होइन।’