म्याग्दी, असार २५ :

म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले थुनिएको म्याग्दी नदी अहिले बग्न थालेको छ । थुनिएको भागभन्दा माथिबाट नदी बग्न थालेको हो ।

बुधबार दिउँसो पहिरो नदी थुनिँदा तलाउ बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए । पानी बगेसँगै पहिरो पनि खस्न थालेको जनाइएको छ ।

धौलागिरि गाउँपालिका ४ र ७ को सिमाना काउसीबोटको भिरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर थुनिएको हो ।

नदी थुनिएपछि तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाइएको छ । छहरी, कल्लेनी, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिंगा र बेनी बजार म्याग्दी नदीको तटीय क्षेत्रका बस्तीहरु हुन् ।

धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरसहित जनप्रतिनिधि र ताकम प्रहरीचौकीबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको छ ।

उनले नदी थुनिएर बनेको तलाउ एकै पटक बग्दा तटीय क्षेत्रमा कटान र बाढी आउने सक्ने भएकाले प्रशासन कार्यालयमार्फत सतर्कता अपनाउन अनुरोध गरिएको बताए । धौलागिरि हिमालमा मुहान भएको म्याग्दी नदी बेनी बजारमा आएर कालीगण्डकीमा मिसिन्छ ।