काठमाडौं, असार २५ :

साताको चौथो कारोबार दिन आज (बुधबार) नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । २२.०४ अंकले बढेको नेप्से २७०५.९० विन्दुमा रोकिएको छ ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४.७६ अंकले बढेर ४६४.४७ अंकमा चढेको छ । नेप्सेमा आज अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । हिजो (मंगलबार) ६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकामा आज बुधबार सात अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा आज ३१६ वटा कम्पनीको ६२ हजार ८८४ पटकको कारोबारमा एक करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर किनबेच भए ।

आजको दिनमा १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४९ वटाको भने घटेको छ । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा दुई समूहको मात्र घट्दा बाँकी सबै हरियाली बने । कारोबारमा आएका वित्त र म्युचुअल फन्ड समूहको परिसूचक मात्र घटेको हो । बैंकिङ समूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशतले बढेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेड परेको छ । जसको मूल्य सर्वाधिक ६.२१ प्रतिशतले बढेको छ । यसको सेयरमूल्य प्रतिकित्ता ४५२.२० रुपैयाँ कायम भएको छ ।

बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड परेको छ । ग्रिन डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ४.४१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य १,३३१.५९ रुपैयाँमा झरेको छ ।

नेप्सेमा आज राधी विद्युत् कम्पनी लिमिटेडको कारोबार सर्वाधिक भएको छ । राधीको प्रतिकित्ता ७९० रुपैयाँमा ४६ करोड ७१ लाख ४६ हजार ५०१ रुपैयाँको सेयर कारोबार भएको छ ।